काठमाडौं । काठमाडौंको टोखामा ज्यान मुद्दाका अभियुक्तलाई गोली हानेर प्रहरीले पक्राउ गरेको छ । लाल मोहम्मद हत्या अभियोगी गुड्डु पटेललाई पक्राउ गर्ने क्रममा भाग्न खोज्दा प्रहरीले गोली चलाएको हो । हरिवन-२, सर्लाहीका मोहम्मदको २०७९ असोज ३ गते साँझ गोठाटारमा हत्या भएको थियो ।
उनी काठमाडौंको झोर, टोखामा फेला परेका थिए । भाग्न खोज्दा गोली प्रहार गरिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । प्रकरणका फरार आरोपीलाई खोजी गरिरहेको प्रहरी टोलीले उनी नेपाल आएको थाहा पाएर पिछा गरिरहँदा पटेलले प्रहरीलाई नै आक्रमण गरेपछि गोली चलाउनु परेको प्रहरीले जनाएकाे छ । प्रहरीले सुरूमा दुई राउण्ड हवाई फायर गरेको थियो । यद्यपि, स्थितिलाई नियन्त्रणमा लिन थप गोली चलाउनु परेपछि उनी घाइते भएका छन् ।
पहिले प्रहरीले हतियार ओसारपसारमा संलग्न सामान्य व्यक्तिलाई मात्र समातेको तर, नाइकेसम्म पुग्न नसकेको भन्दै आलोचना भएको थियो । मोहम्मदलाई भारतीय सुरक्षा निकायले नक्कली नोट कारोबारमा संलग्न रहेको आरोप लगाउँदै आएको थियो । भारतीय प्रहरीले उनीबारे चासो राख्दै पटकपटक हस्तान्तरण गरिदिन नेपाल प्रहरीका अधिकृतहरुलाई अनुरोध गरेको थियो ।
मोहम्मदले आफू मारिनु एक हप्ता अगाडि मात्र सुरक्षा चुनौति रहेको भन्दै स्थानीय प्रहरी बिटलाई खबर गरेका थिए । तर, स्थानीय प्रहरीले त्यो सूचनालाई गम्भीरतापूर्वक लिएको थिएन ।
पहिले हत्या आरोपमा जेल बसेर छुटेका मोहम्मद पछिल्लो समय भने गोठाटारमा गार्मेट उद्योग चलाइरहेका थिए ।












