काठमाडौं । १४ वर्षअघि डिल्लीबजार कारागारबाट भागेका कैदी पक्राउ परेका छन्। ओखलढुंगाको लिखु गाउँपालिका– २ घर भई पछिल्लो समय गोंगबु बस्दै आएका ४५ वर्षीय पेसलराज बुढाथोकी पक्राउ परेका हुन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई बुधबार गोंगबुबाट पक्राउ गरेको हो। परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार उनी २९ साउन ०६७ मा डिल्लीबजार कारागारबाट भागेका थिए। वैदेशिक रोजगार ठगी मुद्दामा उनलाई दोषी ठहर गरी अदालतबाट तीन वर्ष कैद र तीन लाख जरिवानाको फैसला भएको थियो।
२५ फागुन २०६६ मा उनी कारागार चलान भएकोमा त्यसको पाँच महिनामा भागेका हुन्। जेलमा उनी नाइके थिए। नाइकेको सुविधा दुरुपयोग गरी उनी भागेका थिए।












