काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा पहिरोमा पुरिएर गाउँपालिकाका उपाध्यक्षको परिवारका चारजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
पुरिएको घर फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्रा लिम्बूको हो । घर पुरिँदा उपाध्यक्ष रविनका बुवा ७० वर्षीय रामबहादुर लिम्बु, सानीआमा ४८ वर्षीया जसमाया र दुई जुम्ल्याहा बहिनी (९ वर्षीया गंगा र जमुना) को मृत्य भएको फक्ताङलुङ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भुपेन्द्र चौलागाइँले जानकारी दिए। ४० वर्षीया युगेन लिम्बू र तीन वर्षीय छोरी घाइते भएका छन् ।
उपाध्यक्ष रविन भने अर्कै घर मूलघर मा बस्दै आएकी थिइन् । भिरालो जमिनमा ढुंगामाटोले बनेको २ तले घर पहिरोले बगाएर ४० मिटरजति तल पुर्याएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलले जानकारी दिए।
दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले फक्ताङलुङ सो क्षेत्रका ६ वटा पुल पनि बगाएको छ । बाढीले पुल बगाएपछि यातायातका अवरुद्ध भएको प्रहरीले जनाएको छ ।