काठमाडौं । लमजुङमा पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन्।
मृत्यु हुनेमा लमजुङको दोर्दी गाउँपालिका वडा नं.९ स्याउत सुनार गाउँका १६ वर्षीय विकल सुनार र क्व्होलासोथार गाउँपालिका–३ बगुमका रुद्रमान गुरुङ रहेका छन्।
स्याउतका विकल र उनका दाजु मिलन सुनार पहिरोमा परेर घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल बेसीशहर लैजाँदै गर्दा विकलको बाटोमा मृत्यु भएको लमजुङ प्रहरी प्रमुखले जनाएको छ ।
यता, क्व्होलासोथार गाउँपालिका बगुमका रुद्रमानसहित ४ जना पहिरोले पुरिएर बेपत्ता भएका थिए। पहिरो पन्छाएर उनीहरूको खोजी गर्दा ६९ वर्षीय रुद्रमानको शव भेटिएको डिएसपी घलेले बताए। पहिरोमा पुरिएका ३६ वर्षीय पञ्चकुमारी गुरुङ, ७ वर्षीय इच्छा गुरुङ र ५ वर्षीय नम्रता गुरुङ भने अझै बेपत्ता छन्।
अविरल वर्षाका कारण गएको पहिरोले बगुममा रुद्रमान, पञ्चकुमारी र क्व्होलासोथार गाउँपालिकाका योजना शाखा प्रमुखसमेत रहेका चित्र घलेको घर पुरिएको छ। मृत अवस्थामा भेटिएका रुद्रमानका श्रीमती लिलाकुमारी र बेपत्ता भएकी पञ्चकुमारीका छोरा ९ वर्षीय निरज छिमेकीको घरमा सुतेकाले जोगिएको गाउँपालिका उपाध्यक्ष गमी गुरुङले बताइन्।
यस्तै, गाउँपालिका योजना शाखा प्रमुख चित्र घले पनि पालिकाको केन्द्र रहेको मालिङमा रहेकाले जोगिएको गुरुङले बताइन्। पहिरोमा बेपत्ता भएकाहरूको खोजीकार्य जारी रहेको छ ।