झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विपक्षी उम्मेदवारहरूलाई डरत्रास नमान्न र ढुक्क भएर चुनावी प्रतिस्पर्धा गर्न सुझाव दिएका छन्।
सोमबार गृहजिल्ला झापा पुगेका ओलीले दमकमा आयोजित पत्रकार भेटघाटमा आफूहरू डरत्रासको राजनीति नगर्ने बताए। उनले चुनावी प्रतिस्पर्धालाई स्वस्थ र स्वाभाविक प्रक्रिया भएको पनि औंल्याए।
ओलीले झापामा शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार क्षेत्रमा उल्लेखनीय विकास भएको दाबी गरे। साथै कृषिको आधुनिकीकरण, उद्योग स्थापना र रोजगारी सिर्जनाका योजना अन्तिम चरणमा रहेको बताए।
अध्यक्ष ओलीले एमालेबाहेक अन्य दलसँग विकासका स्पष्ट योजना नरहेको उल्लेख गर्दै देशमा आवश्यक शान्ति र सुरक्षामा वर्तमान सरकार उदासिन रहेको टिप्पणी गरे।
उनले चुनावी प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको रूपमा लिने र जनता विकासका प्रतिफल अनुभव गर्न पाउनेमा विश्वास व्यक्त गरे।












