काठमाडौं । प्रकृति लम्सालको मृत्यु प्रकरणमा ओडिशाको विधानसभामा पनि बहस भएको छ। मंगलबार शून्य समयमा विपक्षी दलहरूले राज्यको कानून व्यवस्था संकटग्रस्त भएको भन्दै सरकारलाई घेराबन्दी गरेका थिए।
विपक्षी उपमुख्य सचेतक प्रताप देबले केआईआईटी विश्वविद्यालयमा भएको घटनाले ओडिशाको छवि अन्तर्राष्ट्रिय रूपमा नकारात्मक बनेको बताए। यस्तै, कांग्रेस सांसद तारा प्रसाद बाहिनिपतिले नेपाली विद्यार्थीहरूमाथि गरिएको व्यवहारको निन्दा गर्दै न्यायिक छानबिनको माग गरे।
‘ओडिशाको नेपालसँग पुरानो सम्बन्ध छ। भगवान जगन्नाथका कारण हाम्रो ऐतिहासिक सम्बन्ध रहेको छ। नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहार निन्दनीय छ। घटनाको न्यायिक छानबिन हुनुपर्छ। नभए, म आमरण अनशन बस्नेछु,’ उनले चेतावनी दिए।
यसैबीच, भाजपा सांसदहरूले केआईआईटी विश्वविद्यालयका संस्थापक अच्युत सामन्तको गिरफ्तारीको माग गरेका छन्। सांसद बाबु सिंहले भने, ‘विदेशी विद्यार्थीहरूमाथि गरिएको दुर्व्यवहार निन्दनीय छ। यो विश्वविद्यालय प्रशासनको निर्देशनमा भएको हुनसक्छ। संस्थापक अच्युत सामन्तलाई पक्राउ गर्नुपर्छ।’
भाजपा सांसद टंकधर त्रिपाठीले बीजेडी सरकारको आलोचना गर्दै यसअघि भएका अन्य आपराधिक घटनाहरूमा कारबाही नभएको आरोप लगाए।
‘केआईआईटी घटनाका दोषी को हुन् ? बीजेडी सांसदहरू महंगा दोहोरो हत्या, ममता मेहेर र परी घटनामा संलग्न हुँदा पनि मुख्यमन्त्रीले कुनै कदम चालेनन्। बीजेडीले कानून व्यवस्थाका विषयमा कुरा गर्नु हास्यास्पद छ,’ त्रिपाठीले भने।