काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक गरेको छ। तेस्रो संस्करणका खेल आगामी कात्तिक ९ गते (अक्टोबर २६) देखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछन्।
प्रतियोगिताको उद्घाटन खेल साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच हुनेछ। दोस्रो संस्करणको फाइनलमा पुगेका दुई टोलीबीच नै तेस्रो संस्करणको पहिलो खेल हुने भएको हो।
लिग चरणका खेल कात्तिक ९ देखि कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन्। प्रतियोगितामा कुल ३२ खेल हुने क्यानले जनाएको छ।
लिग चरणपछि पहिलो क्वालिफायर मंसिर १ गते (नोभेम्बर १७), इलिमिनेटर मंसिर २ गते (नोभेम्बर १८) र दोस्रो क्वालिफायर मंसिर ३ गते (नोभेम्बर १९) मा हुनेछ। प्रतियोगिताको फाइनल मंसिर ५ गते (नोभेम्बर २१) मा हुनेछ।
यसपटक एनपीएलका खेलमा फ्लडलाइटलाई समेत प्राथमिकता दिइएको छ। फाइनलसहित २० खेल फ्लडलाइटमा खेलाइनेछन्। फ्लडलाइटमा हुने खेल दिउँसो ४ः३० बजे सुरु हुनेछन् भने दिनको पहिलो खेल बिहान १२ः३० बजेबाट सुरु हुनेछ।
तेस्रो संस्करणका सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै आयोजना हुनेछन्।
यसअघि सम्पन्न एनपीएलको दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको थियो। उपविजेता सुदूरपश्चिम रोयल्ससँगै लुम्बिनीले तेस्रो संस्करणको उद्घाटन खेलबाटै आफ्नो अभियान सुरु गर्नेछ।












