काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ सम्बन्धी प्रस्ताव पारित गरेको छ। महासभाले पारित गरेको प्रस्तावअनुसार अब हरेक वर्ष अप्रिल १५ मा विश्वभर यो दिवस मनाइने भएको छ।
संयुक्त राष्ट्रसंघ स्थायी नियोगका राजदूत लोकबहादुर थापाका अनुसार प्रस्तावले स्वास्थ्यलाई केवल रोग नलाग्ने अवस्थामात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा वातावरणीय सन्तुलनसहितको समग्र कल्याणका रूपमा परिभाषित गरेको छ।
प्रस्तावमा स्वस्थ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैलीको प्रवर्द्धन तथा सबैका लागि पहुँचयोग्य र समावेशी स्वास्थ्य प्रणाली आवश्यक रहेकोमा जोड दिइएको छ।
राजदूत थापाले प्रस्ताव पारित गर्न सहयोग गर्ने सदस्य राष्ट्रहरूलाई धन्यवाद दिँदै यसलाई नेपालको महत्वपूर्ण कूटनीतिक उपलब्धि भएको बताए।
विशेषज्ञहरूका अनुसार विश्व स्वास्थ्य बहसमा ‘समग्र आरोग्य’ को अवधारणा अघि सार्दै नेपालले अन्तर्राष्ट्रिय मञ्चमा नयाँ पहिचान बनाउने अवसर पाएको छ।












