धनगढी। कैलालीको गोदावरीमा वन कार्यालयका कर्मचारीले एक महिलाको टेम्पो भीरबाट धकेलेर खसालेको घटना ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने सर्तमा सहमतिमा टुंगिएको छ।
गोदावरी नगरपालिका–४ बासपानीमा डिभिजन वन कार्यालयका कर्मचारीले स्थानीय ४४ वर्षीया धनादेवी धामीको गुड्ने अवस्थामा रहेको टेम्पो भीरबाट खसालेपछि चौतर्फी विरोध भएको थियो। पीडित धामीले सोही टेम्पोमा पानी, चाउचाउ र बिस्कुट जस्ता सामग्री राखेर राजमार्गको किनारमा आफ्नो जीविकोपार्जन गर्दै आएकी थिइन्।
लामो विवाद र तीव्र आलोचनापछि डिभिजन वन कार्यालयका कर्मचारीहरूले आपसमा रकम संकलन गरी पीडित धामीलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको छ। यससँगै पीडित पक्षले वन कर्मचारीविरुद्ध प्रहरीमा दिएको जाहेरी फिर्ता लिने प्रक्रिया अघि बढेको छ।
घटनाको सत्यतथ्य पत्ता लगाउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देश हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले पटकपटक आग्रह गर्दा पनि वन क्षेत्रको अतिक्रमण नहटाएको झोंकमा केही कर्मचारीहरू संयम गुमाएर आवेग र उत्तेजनामा आउँदा यो गल्ती हुन पुगेको निस्कर्ष निकालेको छ।
त्यस्तै, आगामी दिनमा वन अतिक्रमण हटाउँदा अनिवार्य रूपमा स्थानीय तहसँग समन्वय गर्नुपर्ने सुझाव दिएको छ।












