काठमाडौँ। सामाजिक सञ्जालमा चिकित्सकहरूबाट हुने भ्रामक स्वास्थ्य सूचना, बिरामीको गोपनीयता उल्लंघन तथा पेसागत मर्यादाविपरीतका गतिविधि बढ्दै गएको सन्दर्भमा नेपाल मेडिकल काउन्सिलले चिकित्सकका लागि सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चारमाध्यम प्रयोगसम्बन्धी आठबुँदे आचारसंहिता जारी गरेको छ।
काउन्सिलले नयाँ व्यवस्था लागू गर्दै चिकित्सकहरूलाई सामाजिक सञ्जालमा आफूले काउन्सिलमा दर्ता गराएको उपाधिबाहेक अन्य उपाधि प्रयोग गर्न रोक लगाएको छ। अब फेसबुक, टिकटक, युट्युब वा अन्य डिजिटल माध्यममा पेसागत परिचय दिँदा काउन्सिलको दर्ता प्रमाणपत्रमा उल्लेखित उपाधि मात्रै प्रयोग गर्न पाइनेछ।
आचारसंहिताअनुसार चिकित्सकहरूले सामाजिक सञ्जालमा स्वास्थ्यसम्बन्धी सामग्री राख्दा तथ्यपरक र वैज्ञानिक रूपमा प्रमाणित जानकारी मात्र सार्वजनिक गर्नुपर्नेछ। उपचारसम्बन्धी सुझाव वा जानकारी दिँदा सम्भव भएसम्म सम्बन्धित अनुसन्धान वा सन्दर्भ सामग्रीसमेत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।
काउन्सिलले बिरामीको गोपनीयतालाई विशेष प्राथमिकता दिँदै बिरामी वा उनका हकवालाको सुसूचित मञ्जुरी लिए पनि बिरामीको पहिचान खुल्ने गरी उपचारजन्य तस्बिर वा भिडियो सामाजिक सञ्जालमा राख्न नपाइने स्पष्ट गरेको छ।
अनलाइन स्वास्थ्य परामर्शलाई पनि कडा कानुनी दायराभित्र ल्याइएको छ। अनलाइन परामर्शको लिखित अभिलेख अनिवार्य रूपमा राख्नुपर्ने, रोगको निदान वा उपचार जटिल देखिएमा बिरामीलाई प्रत्यक्ष स्वास्थ्य परीक्षणमा बोलाउनुपर्ने तथा अनलाइन र भौतिक परामर्शको कानुनी दायित्व समान हुने व्यवस्था गरिएको छ।
यस्तै, चिकित्सकहरूले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्न सक्ने भए पनि अन्य व्यक्ति वा संस्थाको आलोचना गर्दा तथ्य र प्रमाणमा आधारित हुनुपर्ने तथा अपमानजनक भाषा प्रयोग गर्न नपाइने काउन्सिलले जनाएको छ।
आचारसंहिताले सहकर्मी चिकित्सकबीचको व्यवहारलाई पनि समेटेको छ। सामाजिक सञ्जालमा सहकर्मीलाई गालीगलौज गर्ने, अनुचित शब्द प्रयोग गर्ने वा पेसागत मर्यादाविपरीत अभिव्यक्ति दिने कार्यलाई निषेध गरिएको छ।
काउन्सिलले सामाजिक सञ्जालको बढ्दो प्रभावसँगै चिकित्सकको सार्वजनिक अभिव्यक्ति र स्वास्थ्य सूचनाको विश्वसनीयता कायम राख्न तथा बिरामीको गोपनीयता संरक्षण गर्न यस्तो व्यवस्था लागू गरिएको जनाएको छ। नयाँ आचारसंहितापछि चिकित्सकहरूको डिजिटल उपस्थितिसमेत अब पेसागत आचारसंहिताको दायराभित्र आउने भएको छ।












