काठमाडौं। भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटका क्रममा सम्माननीय प्रधानमन्त्री शाहले नेपालमा हालै गएको विनाशकारी रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री दिनुका साथै उद्धार टोली खटाएर पुर्याएको सहयोगप्रति आभार व्यक्त गरे।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले विपद्को सामना गरिरहेका बेला फोनमार्फत सहयोगको ऐक्यवद्धता जनाउनुभएकोमा समेत आभार व्यक्त गरे। शाहले नेपालको खेलकुदको विकासका लागि भारतसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा पनि चासो राखे।
शिष्टाचार भेटमा भारतीय विदेशसचिव मिस्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणलाई लिएर तयारी तीव्र पारेको भारतीय प्रधानमन्त्री मोदीको सन्देशसहित जानकारी गराए। उनले प्रधानमन्त्री शाहज्यूको भारत भ्रमण सफल हुने गरी आफूहरुले तयारी गरिरहेको बताए।
साथै, भारतीय विदेश सचिव मिस्रीले ऊर्जा, जलस्रोत, व्यापार–पारवहन र उड्डयनसम्बन्धी नेपाल र भारतका द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको बताए।
भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेलमार्ग सञ्चालनका लागि आवश्यक तयारी पुगेको उनले प्रधानमन्त्रीलाई जानकारी गराए। बिहीबार यो मार्गमा रेल परीक्षण सञ्चालन समेत भएको छ।












