काठमाडौं। नेपाल राष्ट्र बैंकले तिहारको धनतेरसलाई लक्षित गरी बिहीबारदेखि सुनका असर्फी र चाँदीका मेडालियन बिक्री सुरु गरेको छ। बबरमहलस्थित टक्सार विभागबाट बिक्री सुरु गरिएका सिक्का खरिद गर्न बिहानैदेखि सर्वसाधारणको भीड लागेको छ।
धनतेरसमा सुन तथा चाँदीका सामग्री खरिद गर्नुलाई शुभ र समृद्धिको प्रतीक मान्ने धार्मिक तथा सांस्कृतिक मान्यता छ। यही अवसरमा सुनका असर्फीको माग बढ्ने भएकाले सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउन बिक्री व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार व्यक्तिगत ग्राहकले २.५ ग्राम, ५ ग्राम र १० ग्रामका सुनका असर्फी एक–एक थानका दरले खरिद गर्न सक्नेछन्। यसैगरी १० ग्रामका लक्ष्मी र गणेश अंकित चाँदीका मेडालियन पनि बिक्रीमा राखिएका छन्।
असर्फीको मूल्य सुनको प्रचलित बजार मूल्यका आधारमा निर्धारण गरिनेछ। व्यक्तिगत खरिदकर्ताका लागि बजार मूल्यमा प्रतिग्राम २०० रुपैयाँ थप गरी बिक्री मूल्य कायम गरिने राष्ट्र बैंकले जनाएको छ। संस्थागत खरिदकर्ताका लागि भने प्रतिग्राम ३०० रुपैयाँ थप गरिने व्यवस्था छ। सुनको बजार मूल्यमा हुने दैनिक परिवर्तनअनुसार असर्फीको बिक्री मूल्य पनि परिवर्तन हुनेछ।
असर्फी तथा मेडालियन खरिद गर्न चाहनेले नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा ती कागजातको नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ। भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने व्यवस्था गरिएको छ।
टक्सार महाशाखाबाट बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिक्री गरिनेछ। मौज्दात रहेसम्म लाइनमा बसेका सेवाग्राहीलाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ।
धनतेरसका अवसरमा सुनचाँदीका सिक्का खरिद गर्ने परम्पराका कारण हरेक वर्ष राष्ट्र बैंकको टक्सार विभागमा सर्वसाधारणको चाप बढ्ने गरेको छ। यस वर्ष पनि बिक्री सुरु भएसँगै सिक्का खरिद गर्न बिहानैदेखि लामो लाइन लागेको छ।










