काठमाडौँ। काठमाडौँ फिल्म फेस्टिभलमा सर्ट भिडियो, डकुमेन्ट्री र लघु चलचित्रगरी ३८ वटा मध्ये प्रदर्शनमध्ये २९ वटाको प्रदर्शन राष्ट्रिय सभा गृहमा सम्पन्न गरिएकाे छ।
सर्ट भिडियो च्यालेञ्ज र नेपाल पानोरामाबाट छानिएका सर्ट भिडियो र लघुचलचित्र तथा पुराना नेपाली चलचित्रहरुको प्रदर्शन राष्ट्रिय सभा गृहमा सम्पन्न भएकाे काठमाडाै महानगरपालिकाले जनाएकाे छ। यसबाहेक नेपाली चलचित्र उद्योग, कला, साहित्य, प्रशासन, राजनीतिसहित विभिन्न क्षेत्रको सम्मानका लागि आयोजना गरिएको रेड कार्पेट पनि राष्ट्रिय सभा गृहमै आयोजना गरियो ।
जापानका चलचित्र निर्देशक ताकायुकी नाकामुराले प्रस्तुत गरेका ‘यागामाता युनेस्को फिल्म सिटी सर्टस्’ सभा गृहमै प्रदर्शन गरिएका थिए। यसमा ‘सनी स्पट–स्टोरी अफ अ बिलभ्ड लोकल सुपरमार्केट’, ‘द राइटर्स अफ देवा’, ‘मेमोरिज द्याट सीप क्यारी जेनघिस खान इन जो ओन्सेन’, ‘टन–द वे अफ द मास्टर वर्डस्मिथ कानबयासी सुन्चीरा’, ‘द सेक अफ यागामाता – माउण्ट जोज ब्लिसिङ’ प्रदर्शित थिए । यी प्रदर्शनका समयमा निर्देशक नाकामुराले सर्टस र सहरको पृष्ठभूमिका विषयमा स्पष्ट पारे।
कार्यवाहक मेयर सुनिता डंगोलले भनिन्, ‘हामीले एकै पटक पूर्णता खोज्न थाल्यौँ भने यात्रा सुरु नै गर्न सकिँदैन । त्यसैले महानगरपालिकासँग उपलब्ध जुन स्थान छ, त्यही स्थानको अधिकतम उपयोग गर्नका लागि सभा गृह केन्द्रीत कार्यक्रम गरेका हौँ । यात्रा सुरु गरिसकेपछि सुधारका ठाउँ देखिन्छन् । राष्ट्रिय सभा गृह नगरबासीको कार्यक्रम स्थल हो । आफैँले कार्यक्रम आयोजना गरेर यसमा भएका त्रुटि पत्ता लगाएर आगामी दिनमा समृद्ध कार्यक्रम स्थलका रुपमा विकास गर्दै जानका लागि हामीले आफ्नै ठाउँ राष्ट्रिय सभा गृहमा यति धेरै कार्यक्रम गरेका हौँ ।’
सभा गृह, जय नेपाल सिनेमा घरसहित फेस्टिभलका कार्यक्रमहरु नेपाल पर्यटन बोर्डमा समेत आयोजना गरिएका थिए ।
कार्तिक १३ गते बसन्तपुरमा सम्पदा पद यात्रा र औपचारिक समारोहबाट सुरु भएको फेस्टिभल १५ गते बौद्धबाट तारागाउँ सम्मको पैदल मार्गको यात्रा र एम्पीथियटरमा समापन गरिएको थियो ।
बोर्डमा सांघाई फिल्म एकेडेमी, फिल्म आर्टस् रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्काे मुलरको ‘ग्लोबल साउथ र अन्तर्राष्ट्रिय महोत्सवका बिच चलचित्र सौन्दर्य शास्त्र (द इन्पोटेन्स अफ फिल्म एस्थेटिक्स फ्रम द ग्लोबल साउथ एण्ड द इन्टरनेशनल फेस्टिभल सर्किट) विषयमा मास्टर क्लास भएको थियो ।
यस्तै पर्यटन बोर्डमा ‘चलचित्र, महोत्सव र सार्थक जीवन (फिल्म्स्, फेस्टिभल्स एण्ड अ लाइफ वेल लाइभ्ड)’ विषयक अन्तरसंवादमा भारतीय चलचित्र अभिनेत्री शवाना आजमी र नेपाली चलचित्रकी अभिनेत्री स्वस्तिमा खड्काले आपसी ज्ञान, सिप, व्यक्तिगत, पारिवारिक र पेशागत अनुभव आदानप्रदान गर्नुभएको थियो । बोर्डमा ‘सिर्जनात्मक सहरहरुको प्रवर्धनका लागि फिल्म र महोत्सव (नर्चरिङ् क्रियटिभ सिटिज थ्रु फिल्म एण्ड फेस्टिभल्स)’ विषयक प्यानल डिस्कसन भएको थियो ।










