काठमाडौं। सामुदायिक वनको काठ लगत समर्थन र लिलाम सहमति सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा डिभिजन वन कार्यालय, उदयपुरका योजना शाखा प्रमुख (सातौँ तह) वन अधिकृत भुवन पौडेलविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीबाट खटिएको टोलीले पौडेललाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको थियो।
पदीय दायित्व बहन गर्ने क्रममा काठ लिलामको सहमति सिफारिस गर्न आलटाल गरी बदनियतपूर्वक घुस माग गरेको अनुसन्धानबाट खुल्न आएको अख्तियारले जनाएको छ।
अख्तियारले निज पौडेलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर कायम गरी १५ हजार रुपैयाँ बिगो र सोही ऐनबमोजिम कैद तथा बिगोबमोजिम जरिवाना सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।












