काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगरवासीलाई स्वस्थ जीवनशैलीतर्फ अभ्यस्त गराउन टोल–टोलमा निःशुल्क योग, ध्यान तथा प्राणायाम सञ्चालन गर्ने भएको छ।
महानगरको ‘महानगर आरोग्य जीवन कार्यक्रम’ सञ्चालनका लागि कार्यवाहक मेयर सुनिता डंगोल र जीवन विज्ञान प्रतिष्ठानका अध्यक्ष देवी शर्माबीच समझदारी भएको छ।
समझदारीअनुसार महानगरभित्र स्थानीयको माग र वडाको सिफारिसमा आरोग्य प्रयोगशाला सञ्चालन गरिनेछ। आवश्यक स्थान र पूर्वाधार महानगरले उपलब्ध गराउनेछ भने प्रशिक्षक तथा प्राविधिक व्यवस्थापन प्रतिष्ठानले गर्नेछ।
कार्यक्रममा शारीरिक, मानसिक, ऊर्जागत, भावनात्मक र बौद्धिक आरोग्यतालाई पाँच प्रमुख आयामका रूपमा समेटिनेछ। विद्यालय, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि पनि लक्षित कार्यक्रम सञ्चालन गरिने महानगरले जनाएको छ।
डंगोलले कार्यक्रम महानगरको मात्र नभई प्रत्येक नागरिकको भएको बताउँदै आफ्नो परिवार र टोललाई आरोग्य बनाउन नागरिक आफैँ सक्रिय हुनुपर्ने बताइन्।
प्रतिष्ठानका अध्यक्ष शर्माले आउँदो १० वर्षभित्र महानगरवासीलाई आफ्नै आरोग्यताका लागि प्रशिक्षक नचाहिने बनाउने लक्ष्य रहेको बताए। कार्यक्रम सञ्चालन र समीक्षा गर्न दुवै पक्षका तीन–तीन जना प्रतिनिधि रहने गरी आरोग्य कार्यदलसमेत गठन गरिनेछ।












