काठमाडौं। सचिव बन्ने सम्भावना भएका नेपाल प्रशासन सेवाका युवा सहसचिव प्रदीपराज अधिकारीले समेत निजामती सेवा छाडेका छन् ।
५० वर्षसमेत नकटेका अधिकारी पछिल्लो समय आदिवासी जनजाति आयोगका सचिवका रूपमा कार्यरत थिए ।
आयोगका एक कर्मचारीका अनुसार काविल र युवा अधिकारीले व्यावहारिक कारणले राजीनामा दिनुपरेको आफ्ना सहकर्मीहरूलाई बताएका थिए ।
यसैबीच नेपाल प्रशासन सेवाकै सहसचिव खिमबहादुर रायमाझीले पनि राजीनामा दिएका छन् । २०८० मंसिरमा सहसचिवमा बढुवा भएका रायमाझीले गृह प्रशासनअन्तर्गत विभिन्न जिम्मेवारी सम्हालेका थिए। उनी जाजरकोट र रोल्पाका प्रमुख जिल्ला अधिकारीसमेत भएका थिए।
सहसचिव तहका अधिकारीबाटै राजीनामा आउने क्रम बढेसँगै निजामती सेवाको उच्च तहमा देखिएको बहिर्गमन फेरि चर्चामा आएको छ ।












