काठमाडौं । बारा जितपुरसिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाका आरोपीले प्रहरीसमक्ष दिएको बयानको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ।
अपराध अनुसन्धानका क्रममा आरोपीको बयान र अनुसन्धानसँग सम्बन्धित सामग्री गोप्य राखिनुपर्ने संवेदनशील विषय भए पनि घटनामा पक्राउ परेका आरोपीको बयानको भिडिओ नै सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले त्यसबारे छानबिन थालेको छ।
सोमबार सामाजिक सञ्जालमा भिडिओ बाहिरिएपछि मधेस प्रदेश प्रहरी कार्यालयले घटनाबारे छानबिन प्रक्रिया अघि बढाएको हो। कार्यालयका प्रवक्ता एवं एसएसपी प्रभुप्रसाद ढकालले आरोपीको बयानको भिडिओ कसरी बाहिरियो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिए। ‘त्यस घटनाको भिडिओ कसरी बाहिरियो भन्नेबारे छानबिन भइरहेको छ,’ उनले भने।
प्रहरीका अनुसार भिडिओ कहाँ र कुन ठाउँमा खिचिएको हो भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ। साथै, कसले भिडिओ खिच्यो र सामाजिक सञ्जालमा कसरी पुर्यायो भन्नेबारे समेत छानबिन भइरहेको एसएसपी ढकालले बताए।
‘भिडिओ कहाँ र कुन ठाउँमा खिचिएको छ भन्नेबारे छानबिन हुँदैछ। कसले खिचेर सामाजिक सञ्जालमा हाल्यो भन्नेबारे पनि अनुसन्धान हुँदैछ। त्यसपछि कानुनविपरीत भए जोकोही कारबाहीमा पर्छ,’ उनले भने।
अनुसन्धानकै सामग्री बाहिरिएपछि सुरक्षामाथि प्रश्न
तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या जस्तो गम्भीर र संवेदनशील घटनामा आरोपीको बयानको भिडिओ बाहिरिनुले अनुसन्धानको गोपनीयता र हिरासत सुरक्षामाथि प्रश्न उठाएको छ।
आरोपीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका बेला बयानको भिडिओ खिचिनु र त्यसपछि सामाजिक सञ्जालसम्म पुग्नुले प्रहरीको हिरासत तथा अनुसन्धान प्रक्रियामा संलग्न संयन्त्रभित्रबाटै सुरक्षा चुक भएको हुन सक्ने आशंका बढाएको छ।
के हो घटना?
जितपुरसिमरा उपमहानगरपालिका–१ दसधुरीकी तीन वर्षीया गरिमा चौधरी साउन ३१ गतेदेखि बेपत्ता भएकी थिइन्। भदौ ३ गते उनको शव फेला परेको थियो। प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाको बलात्कारपछि हत्या भएको निष्कर्षसहित अनुसन्धान अघि बढाएको छ।
घटनामा संलग्न रहेको आरोपमा जितपुरसिमरा उपमहानगरपालिका–२ का १६ वर्षीय किशोर र २४ वर्षीय प्रोग्रेस चौधरी पक्राउ परेका छन्।












