काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले भारतका चार विश्वविद्यालयबाट अध्ययन गरेका ११४ नेपाली विद्यार्थीलाई दिएको समकक्षता (इक्विभ्यालेन्स)रद्द गरेको छ। निर्णयसँगै ती उपाधिले नेपालमा कानुनी मान्यता गुमाएका छन्।
त्रिवि पाठ्यक्रम विकास केन्द्रले सार्वजनिक गरेको सूचनाअनुसार छानबिनपछि सांगाई इन्टरनेशनल युनिभर्सिटी मणिपुर, सीएमजी युनिभर्सिटी मेघालय, टेक्नो ग्लोबल युनिभर्सिटी मेघालय र प्रज्ञान इन्टरनेशनल युनिभर्सिटी झारखण्डबाट प्राप्त उपाधिको समकक्षता खारेज गरिएको हो।
सबैभन्दा धेरै सांगाई इन्टरनेशनल युनिभर्सिटीका ९८ जना विद्यार्थी प्रभावित भएका छन्। त्यस्तै सीएमजी युनिभर्सिटीका १३ जना, टेक्नो ग्लोबल युनिभर्सिटीका २ जना र प्रज्ञान इन्टरनेशनल युनिभर्सिटीका १ जना विद्यार्थीको समकक्षता रद्द गरिएको छ।
त्रिविका अनुसार निर्णयअघि सम्बन्धित विद्यार्थीलाई ३५ दिनको सार्वजनिक सूचना जारी गरी आफ्नो पक्ष राख्ने अवसर दिइएको थियो। तर, निर्धारित अवधिभित्र समकक्षता कायम राख्नुपर्ने पर्याप्त आधार वा प्रमाण पेस हुन नसकेपछि त्रिभुवन विश्वविद्यालय उपाधि मान्यता तथा समकक्षतासम्बन्धी विनियम, २०८२ को विनियम २१ बमोजिम समकक्षता पत्र रद्द गरिएको हो।
यस निर्णयबाट इन्जिनियरिङ संकाय सबैभन्दा बढी प्रभावित भएको छ। रद्द गरिएका अधिकांश समकक्षता भारतका ती विश्वविद्यालयबाट बीई र एमई अध्ययन गरेका विद्यार्थीका हुन्।
समकक्षता रद्द भएसँगै ती उपाधिले नेपालमा वैधता गुमाएका छन्। यसले प्रभावित विद्यार्थीहरू सरकारी सेवामा आवेदन, नेपाल इन्जिनियरिङ परिषद्लगायत सम्बन्धित निकायको लाइसेन्स परीक्षा, तथा उच्च अध्ययनमा भर्ना हुनबाट वञ्चित हुन सक्ने अवस्था सिर्जना भएको छ।
त्रिविको यो निर्णयलाई विदेशी विश्वविद्यालयका उपाधिको मान्यता र समकक्षता प्रक्रियामा हालसम्मकै कडा कदमका रूपमा हेरिएको छ। यसले विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई सम्बन्धित विश्वविद्यालयको कानुनी मान्यता र शैक्षिक विश्वसनीयता राम्रोसँग बुझेर मात्रै भर्ना हुनुपर्ने सन्देशसमेत दिएको छ।












