काठमाडौं । आगामी अक्टोबरमा ओमानमा हुने आईसीसी टी–२० विश्वकप २०२६ को एसिया छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले ३२ सदस्यीय बन्द प्रशिक्षण टोली घोषणा गरेको छ।
बन्द प्रशिक्षण टोलीमा तीन वर्षपछि राष्ट्रिय टिममा मोहम्मद आदिल अन्सारीको पुनरागमन भएको छ। स्पट फिक्सिङको आरोपमा प्रतिबन्ध खेपेका अन्सारीको प्रतिबन्ध गत वैशाखमा हटाइएको थियो। प्रशिक्षक स्टुअर्ट लको नेतृत्वमा अन्सारीलाई पुनः टोलीमा समावेश गरिएको हो।
क्यानका अनुसार इन्टेग्रिटी समितिको सिफारिसपछि आवश्यक प्रक्रिया पूरा गर्दै अन्सारीमाथिको प्रतिबन्ध हटाइएको थियो। अदालतले समेत अभियोग प्रमाणित नभएको ठहर गर्दै अन्सारीसहित पाँच जनालाई सफाइ दिएको थियो।
बन्द प्रशिक्षण टोलीमा को–को?
टोलीमा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, स्टार स्पिनर सन्दीप लामिछाने, कुशल भुर्तेल, अनिल साह, आसिफ सेख, भीम सार्की, कुशल मल्ल, करण केसी, सोमपाल कामी, ललित राजवंशी, गुलशन झा, रिजन ढकाल, प्रतिस जीसी, रुपेश सिंह, शेर मल्ल, सागर ढकाल, सन्दीप जोरा, युवराज खत्री, कमल सिंह ऐरी, बसिर अहमद, साहब आलम, विवेक यादव, आकाश चन्द, पवन सर्राफ, अर्जुन घर्ति, किरण ठगुन्ना, शुभ कंसकार, नन्दन यादव, आरिफ सेख, र लोकेस बम पनि अटाएका छन्।
समूह चरण र प्रतिस्पर्धा तालिका
नेपाल एसिया छनोटको समूह ‘बी’ मा परेको छ, जहाँ कुवेत र जापान प्रतिद्वन्द्वी छन्।
नेपालले अक्टोबर ८ मा कुवेतसँग र
अक्टोबर १० मा जापानसँग खेल्नेछ।
दुवै खेल ओमानमा हुनेछन्।
छनोट प्रतियोगितामा ९ टोली तीन समूहमा विभाजित छन्। प्रत्येक समूहको शीर्ष दुई टोली सुपर सिक्स चरणमा पुग्नेछ। सुपर सिक्स अक्टोबर १२ देखि १७ सम्म हुनेछ। त्यहाँबाट शीर्ष तीन टोलीले भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकप २०२६ को लागि स्थान सुरक्षित गर्नेछन्।
तयारीका लागि अष्ट्रेलिया र वेस्ट इन्डिज भ्रमण
नेपालले छनोट प्रतियोगिता अघि अगस्ट दोस्रो साता अष्ट्रेलिया भ्रमण गर्नेछ। भ्रमण अन्तर्गत टप इन्ड टी–२० सिरिजमा ६ टोलीसँग प्रतिस्पर्धा हुनेछ। त्यसपछि सेप्टेम्बरमा वेस्ट इन्डिजसँग तीन खेलको टी–२० श्रृंखला तय भएको छ।












