काठमाडौं । झन्डै ९ वर्षको अन्तरालपछि नेपाल–भारत गृहसचिवस्तरीय बैठक यही साउन ६ र ७ गते (जुलाई २२ र २३) भारतको नयाँ दिल्लीमा बस्ने भएको छ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले गृहसचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा भारत भ्रमणमा जाने १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डल अनुमोदन गरेको छ।
सन् २०१६ पछि पहिलोपटक बस्न लागेको यो बैठकमा सीमा सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण, लागूपदार्थ तथा मानव तस्करी न्यूनीकरण, सीमा स्तम्भ मर्मत, संयुक्त गस्ती तथा निगरानी लगायतका विषयमा गम्भीर छलफल हुने गृह मन्त्रालय स्रोतले जनाएको छ।
नेपाली प्रतिनिधिमण्डलमा गृहसचिव दुवाडीको नेतृत्वमा नेपाल प्रहरीका एआइजी दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका एआइजी गणेश ठाडामगर, राष्ट्रिय अनुसन्धान विभागका एआइजी टेकेन्द्र कार्की, गृह मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीलगायतको सहभागिता रहनेछ। बैठकमा भारतीय गृहसचिवको नेतृत्वमा भारतका विभिन्न सुरक्षा निकायका उच्च अधिकारीहरू रहनेछन्।
दुवै देशका गृहसचिवहरूबीचको यो बैठकले सीमावर्ती क्षेत्रको सुरक्षा सुदृढीकरण, आपराधिक गतिविधिको न्यूनीकरण तथा सीमापार सहयोगको मार्गचित्र तयार पार्ने विश्वास गरिएको छ।












