काठमाडौं । एएफसी महिला एसियन कप २०२६ छनोट प्रतियोगितामा नेपालले दोस्रो खेलमा श्रीलंकामाथि एकतर्फी प्रदर्शन गर्दै ८–० को विशाल जित दर्ता गरेको छ। उज्वेकिस्तानमा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको ह्याट्रिकसहित नेपालले दबदबा देखाएको हो।
नेपालका लागि सावित्राले खेलको २०औं, ४२औं र पहिलो हाफको इन्जुरी समयमा तीन गोल गर्दै ह्याट्रिक पूरा गरिन्। यस्तै, गीताले ७औं र ५४औं मिनेटमा दुई गोल गरिन् भने पूजा राना (८९’), निशा थोकर (६२’) र रेखा पौडेल (७८’) ले एक–एक गोल गरे।
नेपालले पहिलो हाफमा ४ गोल गर्यो भने दोस्रो हाफमा थप ४ गोल थपेर श्रीलंकालाई पूर्णरूपमा दवाबमा राख्यो। यसअघि नेपालले पहिलो खेलमा लाओसलाई ९–० गोल अन्तरले पराजित गरेको थियो।
अब नेपालले शुक्रबार आयोजक उज्वेकिस्तानसँग निर्णायक खेल खेल्नेछ। यदि नेपालले उज्वेकिस्तानलाई हराउन सक्यो भने सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबल प्रतियोगिताका लागि छनोट हुनेछ।












