काठमाडौं । नेपालले एसीसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ। मलेसियाको कोजल टुन्कु जाफर ओभलमा आज सम्पन्न खेलमा नेपालले जापानलाई ९ विकेटले पराजित गरेको हो।
टस जितेर पहिला ब्याटिङ गरेको जापानले ३४.३ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ८० रन बनायो। जवाफमा नेपालले १४.२ ओभरमा मात्र एक विकेटको क्षतिमा लक्ष्य भेट्टायो।
नेपालका लागि शिवान्स बजगाईंले अविजित ३८ तथा प्रसिद्व जैसीले अविजित ३३ रन बनाए। बलिङतर्फ नेपालका शुभम् खनालले उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिए। अभय यादवले दुई विकेट तथा सुशील रावल र कप्तान विपिनप्रसाद शर्माले एक-एक विकेट लिए।
यसअघि नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो। दुई खेलमा दुई जितसहित चार अंक जोडेको नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा रहेको छ।
प्रतियोगितामा १० टोली सहभागी छन्। समूह ‘ए’ मा नेपाल, जापान, भुटान, इन्डोनेसिया र सिंगापुर छन् भने समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन्।
नेपालले आगामी खेल असार १५ गते इण्डोनेसियासँग र असार १७ गते भुटानसँग खेल्ने तालिका रहेको छ। नेपाल यसअघि सम्पन्न तीनवटै संस्करणमा च्याम्पियन बनेको छ।












