काठमाडौं । युगान्डामा जारी वुमन्स डे टी-२० कपमा नेपालले हङकङसँग पराजय भोगेको छ। सोमबार भएको खेलमा नेपालले हङकङसँग दुई रनको हार ब्यहोरेको हो। हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले ९८ रन मात्र जोड्न सक्यो। अन्तिम ओभरमा नेपाललाई जितका लागि १० रन चाहिएको थियो। तर नेपालले ७ रन मात्र जोड्न सक्यो।
१९औँ ओभरमा नेपालले १० रन जोड्दा आशा बढेको थियो। तर सो ओभरको अन्तिम बलमा नेपालकी कप्तान इन्दू बर्मा आउट हुन पुगिन्।इन्दूले ३३ बलमा ३२ रन जोडिन्। यद्यपि उनीसँग तीन ब्याटर रन आउट भए। विन्दू रावल १४ रन, कविता जोशी र रुबिना क्षेत्री शून्यमा रन आउट भए।
त्यसअघि पूजा महतोले १९ रन र सना प्रवीन १० रन जोडे। टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेटको क्षतिमा १०० रन बनायो।
हङकङका लागि ओपनर नताशा माइल्सले सबैभन्दा बढी ३५ रन बनाइन्। मारिको हिलले २१ रन बनाउँदा चाङ का यिङले १२ रन बनाइन्।
बलिङमा नेपालका ईश्वरी विष्ट र कप्तान इन्दू बर्माले २-२ विकेट लिए। यसअघि नेपालले दुई मध्ये एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको थियो। शनिबार नामिबियासँग पराजित भएको नेपालले आइतबार घरेलु टोली युगान्डालाई १ विकेटले हराएको थियो।