काठमाडौं । नेपालले सन् २०२६ मा इंग्ल्याण्ड र वेल्समा आयोजना हुने महिला टी–२० विश्वकपका लागि ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बिहीबार जारी गरेको सूचना अनुसार ग्लोबल छनोट प्रतियोगिता सन् २०२६ जनवरी १२ देखि फेब्रुअरी १६ सम्म नेपालमा हुनेछ।
यो प्रतियोगिता नेपालले अहिलेसम्म आयोजना गर्न लागेको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता हो। ग्लोबल छनोटमा १० टोली सहभागी हुनेछन्। सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिनेछ। हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्। सुपर सिक्सबाट उत्कृष्ट चार टोलीले आगामी महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन्।
बंगलादेश र आयरल्याण्डले सन् २०२४ को टी–२० विश्वकपमा सहभागिता जनाएकाले ग्लोबल छनोटमा सिधा स्थान पाएका छन्।
त्यस्तै, एसिया क्षेत्रीय छनोटबाट नेपाल र थाइल्याण्ड, अमेरिका क्षेत्रबाट अमेरिका, अफ्रिका र युरोपबाट दुई–दुई टोली तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट एक टोलीले ग्लोबल छनोटमा सहभागिता जनाउनेछन्।
यो प्रतियोगिता नेपालमा महिला क्रिकेटको विकास तथा अन्तर्राष्ट्रिय पहिचान बढाउन महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।












