काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म दुई महिने राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रकाश ज्वालाले बताए।
उनका अनुसार अभियान केन्द्रदेखि गाउँ, टोल हुँदै जनताको घरदैलोसम्म पुगेर सञ्चालन गरिनेछ। अभियानको विस्तृत कार्ययोजना र कार्यविधि भने पार्टीको केन्द्रीय सचिवालय बैठकले तय गर्नेछ।
प्रवक्ता ज्वालाका अनुसार सचिवालय बैठक दसैंअघि बस्ने तय भएको छ। उक्त बैठकले राष्ट्रिय अभियानको स्वरूप, कार्यविधि तथा अन्य कार्यक्रमलाई अन्तिम रूप दिनेछ।
राष्ट्रिय अभियानको तयारीसँगै पार्टी तथा जनवर्गीय संगठनका बाँकी कामको समायोजन गरिने भएको छ। त्यसबीच सदस्यता वितरण तथा नवीकरण अभियान पनि सञ्चालन गरिने ज्वालाले बताए।
पार्टी संगठनलाई केन्द्रदेखि स्थानीय तहसम्म थप व्यवस्थित बनाउने गरी अभियान अघि बढाउने नेकपाको तयारी छ।
नेकपाले सरकारले गरेका जनविरोधी कामको भण्डाफोर गर्न पनि व्यवस्थित कार्ययोजना ल्याउने भएको छ। प्रवक्ता ज्वालाले त्यसका लागि आवश्यक कार्यक्रम दसैंअघि बस्ने सचिवालय बैठकले तय गर्ने बताए।
मंसिर १५ गतेसम्म राष्ट्रिय जनअभियान सञ्चालन गरेपछि आवश्यकताअनुसार संसद् र सडक दुवै माध्यमबाट सशक्त आवाज उठाउने गरी थप आन्दोलनका कार्यक्रम तय गर्ने नेकपाको तयारी छ।
राष्ट्रिय अभियानको निष्कर्ष र त्यसपछिको राजनीतिक परिस्थितिका आधारमा सचिवालयले थप आन्दोलनका कार्यक्रम निर्धारण गर्ने प्रवक्ता ज्वालाले बताए।












