काठमाडौं । गैरसरकारी संस्था महासंघ नेपालको संयोजनमा बृहत् नागरिक धर्ना सम्पन्न भएको छ। काठमाडौंको माइतीघर मण्डलामा भएको धर्ना कार्यक्रममा राजतन्त्र फर्काउने नाममा मच्चाइएको अराजकता र हिंसाको कडा विरोध र भत्सर्ना गरिएको छ ।
चैत्र १५ गतेको हिंसा, पत्रकारको हत्या, संचार संस्था लगायत निजी सम्पति र यातायातका साधनको तोडफोडको सम्पूर्ण जिम्मा ज्ञानेन्द्र शाहले लिनुपर्ने, दोषीहरुलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने माग नागरिक समाजको रहेको छ।
जनआन्दोलनहरु, जनताको बलिदान र संघर्षपछि प्राप्त लोकतन्त्र र गणतन्त्रलाई थप सबल बनाउन साथै मानवअधिकार र शान्तिका लागि मानवाधिकारकर्मी, नागरिक अगुवा, नागरिक संघ संस्थाका प्रतिनिधिले आह्वान गरे।
साथै, सुशासन कायम गर्न, संविधानको कार्यान्वयन गर्न, कानुनी शासनको पालना गर्न, दण्डहीनताको अन्त्य गर्न, भ्रष्टाचारको अन्त्य गर्न र राजनीतिक दलहरुले बिगतमा गरेका प्रतिबद्धता पुरा गर्न माग गर्दै नागरिक खबरदारी गरिएको छ। गैर सरकारी संस्था महासंघको आयोजनामा देशव्यापी रुपमा खबरदारी सभा र कार्यक्रमहरु आयोजना भइरहेका छन्।












