काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तुइन खोलामा निरन्तर खसिरहेको पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड आज रातभर पनि बन्द रहने भएको छ। जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी गोविन्द पुरीका अनुसार, सडक दुईतर्फी रूपमा अवरुद्ध रहेकाले आजका लागि पहिरो पन्छाउने काम पनि रोकिएको छ।

पहिरो निरन्तर आइरहेकाले अवरोध हटाउन नसकिको र भोली मध्यान्ह १२ बजेभन्दा अघि सहज आवागमन सम्भव नहुने उनले बताए। शुक्रबार रातिदेखि थुनिएको सडक, अझै खुल्न सकेको छैन। पहिरोका कारण सवारी साधनहरू लामबद्ध अवस्थामा छन् भने सयौं यात्रु बाटोमै अलपत्र परेका छन्। लगातार वर्षाका कारण तुइन खोलामा पहिरो रोकिएको छैन।
प्रहरी र स्थानीय प्रशासनले शनिबार दिउँसो अलपत्र यात्रुहरूका लागि पानी र खानाको व्यवस्था गरेको थियो। साथै, राजमार्ग किनारका व्यवसायीहरूलाई यात्रुहरूलाई सहयोग गर्न अपिल गरिएको छ।
तुइन खोला मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ पर्दछ। यो सडकखण्ड देशको एक मुख्य राजमार्ग हो र हाल दशैंको मुखमा सडक अबरुद्ध भएपछि यात्रुहरू थप समस्यामा परेका छन्।












