काठमाडौं । नुवाकोट पञ्चकन्या गाउँपालिका कविलासका एक किसान बाँदरको आक्रमणमा परी बाटोमै ज्यान गुमाएका छन्।
पञ्चकन्या–२ कविलास कोटथोकका ५८ वर्षीय गोकर्ण नेपाली बुधबार बिहान साढे ६ बजे आफ्नै घरबारीमा बाँदर धपाउने प्रयास गर्दै थिए। तर, बाँदरको समूहले अचानक आक्रमण गर्दा उनी अचेत भए। स्थानीयवासीले उद्धार गरी उपचारका लागि काठमाडौं लैजाँदै गर्दा सामाखुसीमा पुग्दा उनको मृत्यु भएको हो।
गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले बताएअनुसार, बाँदरको समूहले चारैतिरबाट घेरा हालेको र गोकर्ण नेपाली अत्तालिएर अचेत भएको भए पनि घाउचोट नभएको थियो।
पञ्चकन्या–२ का वडाध्यक्ष रामशरण श्रेष्ठका अनुसार, बाँदरको समूहमा करिब २०० वटा बाँदर थिए। मृतक गोकर्ण नेपाली रक्तचापका बिरामी समेत थिए।












