काठमाडौं । बर्खायाम शुरु गराउने मौसम प्रणाली मनसुन नेपाल प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज (जेठ २८ गते) सूचना जारी गरी नेपालको कोसी प्रदेशबाट मनसुन भित्रिएको जानकार दिएको हो।
नेपालमा मनसुन पूर्वी क्षेत्रबाट प्रवेश गर्छ। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। यस वर्षको मनसुन सरदर मितिभन्दा ३ दिन छिटो नेपाल प्रवेश गरेको हो।
महाशाखाले भनेको छ, ‘नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रूपमा मनसुन अगाडि बढ्ने देखिन्छ।’ मनसुन गत मे ३१ तारिखमै सिक्किम आइपुगेको मनसुन त्यहाँबाट १० दिनपछि नेपाल प्रवेश गरेको हो।












