काठमाडौं। मधेश प्रदेशको सत्ता राजनीतिमा फेरि ठूलो फेरबदलको संकेत देखिएको छ। नेपाली कांग्रेसबाट मुख्यमन्त्री रहेका कृष्णप्रसाद यादव नेतृत्वको सरकारबाट नेकपाले समेत शुक्रबार समर्थन फिर्ता लिएको छ।
यसअघि असोज ३० गते एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाएको थियो। त्यसपछि पनि सरकारलाई साथ दिइरहेको नेकपाले शुक्रबार सरकारबाट बाहिरिने निर्णय गरेसँगै कांग्रेस नेतृत्वको सरकारको बहुमत जुटाउने सम्भावना थप कमजोर बनेको हो।
मुख्यमन्त्री यादवले अब विश्वासको मत लिनुअघि नै नयाँ राजनीतिक विकल्प खोज्नुपर्ने दबाब बढेको छ। अब कांग्रेसले सरकार जोगाउन जसपा नेपाल, जनमतसहितका दलको समर्थन जुटाउनुपर्ने अवस्था छ।
तर, एमाले, नेकपा भने नयाँ गठबन्धन बनाउन लागिरहेका छन्। एमालेका संसदीय दलका नेता सरोजकुमार यादवले एमाले, जसपा नेपाल र नेकपाबीच नयाँ सरकार गठनका लागि सहमति जुटेको दाबी गरेका छन्। उनका अनुसार तीन दलका शीर्ष नेताबीच भएको छलफलमा नयाँ सत्ता समीकरण बनाउने समझदारी बनेको हो।
मधेशमा जसपा नेपालका २७, एमालेका २३, कांग्रेसका २२, नेकपाका १५, जनमतका १२, नेपाल संघीय समाजवादीका १ र राप्रपाका १ सांसद छन्। जसपा नेपाल, एमाले र नेकपा मिल्दा ६५ सांसद पुग्छन्। १०३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५२ सांसद आवश्यक पर्ने भएकाले यी तीन दल एक ठाउँमा उभिए सरकार गठनका लागि पर्याप्त संख्या पुग्छ।












