ए प्रेमिल हावाका झोकाहरु
आफ्नै प्रेमको गल्लीमा मस्त यो जोगिनीलाई
भनिदेउ न
ती अतृप्त आत्माहरू
धाएर यो घाटमा
बजाउँदै कुनै शोक धुन
अलाप्दै राग कुनै झुट्टो प्रेम कहानीको
किन कामना गरि रहन्छन्
ती मृतात्माहरूको चिर शान्तिको।
यदि प्रेमको कुनै गहिराई छ भने
प्रेमकै नशाले यदि कसैलाई चुर्लुम्म डुबाउँछ भने
किन भड्किरहन्छन् ती मृतात्माहरू
छुट्टाएर आफ्नै अङ्गालोबाट
एक थान प्रेमको न्यानो घामलाई
हरेक साझ मदिरासँग कुनै मदिरालयमा।
म त मस्त छु आफ्नै प्रेमको डेरामा
माहुरी हु म त डुबिरहन्छु
आफ्नै प्रेमको चास्निमा ।
ओ दुनियाका प्रेमिल कङ्कालहरु
यदि प्रेमले साच्चैनै अमरत्व प्राप्त गर्छ भने
आफ्नै मायाको दाहसंस्कार गर्नलाई
प्रेमिल मनहरूको मलामि बनेर
भन किन फर्किरहन्छन रेडलाइट एरियाबाट
ती मृत प्रेमिहरूको अस्थिपञ्जर
दिएर आफ्नै प्रेमको दागबत्ती ।
जुन प्रेमको आत्मा अनि मायाँको गहिराई
केहि पलमानै टुटिजान्छ
त्यति कमजोर प्रेमको गाथा के गाउछौ तिमी
जुन प्रेमलाई सावित गर्न
तिम्रा ओठहरुले हरेक पल्ट झुट्टो बोल्नु पर्छ
के तिमी भन्न सक्छौ
आफ्नै मनलाई नढाटिकन
तिमी कुन कुन बेश्यालयमा धाएको थियौ भनेर।
छाडिदेउ यार यो प्रेम, यो वाचा, अनि यो बन्धन
जहाँ हरेक पल शङ्का छ उप शङ्का छ
र हरेक पल्ट हत्या गरेर आफ्नै मायाको
ती मृतात्माहरू त्यसरी नै भनि रहन्छन
म तिमीसँग बाहेक
अरु कसैसँग प्रेम गर्न सक्दिन भनेर
र गिद्धका आँखाले झै
हरेक पल निह्यालि रहन्छन भोजनको रूपमा
कुनै सुन्दर मासुको डल्लालाई।
यहाँ सत्य केवल एउटै छ
जिन्दगीले मसानघाटसँग गर्ने प्रेम
र मसानघाटले धुवाँसँग गर्ने प्रेम
र ति धुवाँहरु साक्षी छन
हरेक साझ प्रेमको भट्टिमा जलेर
खरानी भएका ति प्रेमका लार्भाहरुको।
गुमनाम प्रेमिका आँखाहरू डुलिरहने
यो बदनाम शहरमा
आफ्नै प्रेमको अग्निकुन्डमा समाधि लिएकी
एउटा जोगिनीको समाधिस्थल नजिक
किन ध्यानमग्न छ शिकारको खोजीमा
कुनै प्रेमिल नङ्ग्रा?