काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कुवेतले नेपालबाट थप २ लाख कामदार लैजाने विषयमा छलफल भएको बताएका छन् ।
एसिया को–अप्रेसन डायलग (एसीडी) को इरानको तेहरानमा भएको १९औं विदेशमन्त्री स्तरीय बैठकमा सहभागी भएर मंगलबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले कुवेतका विदेशमन्त्री अब्दुल्ला अली अल–याह्याले थप २ लाख नेपाली कामदारलाई कुवेत लगिने जानकारी दिएको बताए ।
कुवेतमा अहिले १ लाख नेपाली रहेका र अब ३ लाख पुर्याउने लक्ष्य कुवेतको रहेको उनले जानकारी दिए । कुवेतका विदेशमन्त्री अब्दुल्लाले यसै वर्ष काठमाण्डुमा कुवेतले दूतावास खोल्ने जानकारी दिएको उनले बताए ।
उनले भ्रमणको क्रममा इरानका कार्यबाहक परराष्ट्रमन्त्री, म्यानमारका उपप्रधान तथा विदेशमन्त्री, बहराइनका विदेशमन्त्री, कुवेतका विदेश राज्यमन्त्री, साउदी अरेवियाका उपविदेशमन्त्री र रुसका उपविदेशमन्त्रीसँग दुईपक्षीय भेटघाट गरी २ पक्षबीच सहकार्य र हितका विषयमा समेत छलफल भएको बताए । रुसको उपविदेशमन्त्रीसँगको भेटमा रुसी सेनामा भएका नेपाली सैनिक नेपालमा फिर्ता गर्ने सम्बन्धमा पनि छलफल भएको उनले बताए ।