काठमाडौं। काठमाडौँ विश्वविद्यालय (केयू)को उपकुलपतिमा प्राडा विवेक बराल नियुक्त भएका छन्।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा बराललाई शुक्रबार उपकुलपतिमा नियुक्त गरेका हुन्।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रममा नवनियुक्त उपकुलपति बराललाई नियुक्तिपत्र प्रदान गरे।
गत जेठ १९ गते बसेको काठमाडौँ विश्वविद्यालयको सिनेट बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो। समितिमा राष्ट्रिय योजना आयोगकी सदस्य रेशु अर्याल ढुंगाना र काठमाडौँ विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष तथा विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा सदस्य थिए।
केयूबाटै पढेर केयूको नेतृत्वमा
बरालको नियुक्ति काठमाडौँ विश्वविद्यालयका लागि विशेष मानिएको छ। उनी काठमाडौँ विश्वविद्यालयमै अध्ययन गरेर सोही विश्वविद्यालयको उपकुलपति बनेका हुन्।
बराल विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन्। उनी काठमाडौँ विश्वविद्यालयको इन्जिनियरिङतर्फको दोस्रो ब्याचका विद्यार्थी थिए।
उहाँले काठमाडौँ विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गर्नुभएको छ। त्यसपछि जापानको टोकियो विश्वविद्यालयबाट स्नातकोत्तर र न्युजिल्यान्डको अकल्यान्ड विश्वविद्यालयबाट विद्यावारिधि ९पीएचडी० गर्नुभएको हो।
बरालको विशेषज्ञता इन्धन तथा ऊर्जा, दहन विज्ञान तथा वातावरणीय प्रदूषण, थर्मोफ्लुइड इन्जिनियरिङ तथा कम्प्युटेसनल फ्लुइड डाइनामिक्समा रहेको छ।
उनी काठमाडौँ विश्वविद्यालयमा उपप्राध्यापक हुँदै सहप्राध्यापक र त्यसपछि प्राध्यापक बनेका थिए।












