काठमाडौं। एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष भएको जेनजी आन्दोलनका क्रममा भएको हिंसा र विध्वंसमा नवयुवाहरूको संलग्नता नरहेको दाबी गरेका छन्।
बुधबार भदौ २४ गते जारी गरेको वक्तव्यमा ओलीले नवयुवाहरूको सरोकार, अपेक्षा र मनसाय असल रहेको दाबी गर्दै आन्दोलनका क्रममा भएको हिंसा तथा विध्वंसबाट अरू नै तत्वले लाभ लिएको आरोप लगाएका हुन्।
‘हामी विश्वस्त छौँ– नवयुवाहरूको सरोकार, अपेक्षा र मनशाय असल थियो। जेनजी विद्रोहका नाममा जुन हिंसा र विध्वंश भयो, त्यसमा नवयुवाहरूको संलग्नता थिएन,’ ओलीले भनेका छन्, ‘तर अरू नै तत्वहरूले त्यसको लाभ लिए।’
ओलीले ती ‘लाभग्राही’हरूको अनुचित भूमिकाका कारण अहिले नवयुवाहरूमा निराशा व्याप्त भएको दाबी गरेका छन्।
उनले गत वर्ष भदौ २३ गतेदेखि सुरु भएको प्रदर्शनमा आपराधिक समूहले घुसपैठ गरी शान्तिपूर्ण आन्दोलनलाई अनियन्त्रित, अराजक र हिंसात्मक बनाएको आरोपसमेत लगाए। उनका अनुसार प्रदर्शन आयोजकले कार्यक्रम स्थगित गरेपछि पनि ‘घुसपैठ गरेका षड्यन्त्रकारी समूह’ले निर्दोष युवालाई मानव ढाल बनाएर संसद् भवनमा आक्रमण गर्न दुरुत्साहन गरेका थिए।
ओलीले भदौ २४ गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय तथा सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनी र विध्वंसलाई नेपालको इतिहासकै ‘कालो अध्याय’ भएको टिप्पणी गरेका छन्।
उनले उक्त विध्वंस अघिल्लो दिन युवाको मृत्युबाट उत्पन्न आवेग वा आक्रोशको परिणाम मात्र नभएको दाबी गर्दै त्यसलाई राष्ट्रियता, लोकतन्त्र र संविधानको ‘प्रगतिशील कोर्स’ उल्ट्याउने योजनाको रूपमा व्याख्या गरेका छन्।
ओलीले शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसका लागि को जिम्मेवार छन् भन्नेबारे गहिरो छानबिन हुनुपर्ने मागसमेत गरेका छन्। साथै, भदौ २४ को विध्वंसका आरोपीलाई उन्मुक्ति दिइएको र उनीहरूविरुद्ध सुरु भएका अनुसन्धान तथा अभियोजन रोकिएको आरोप लगाउँदै त्यसले ‘राजनीतिको अपराधीकरणलाई संस्थागत गरेको’ दाबी गरेका छन्।
उनले आगामी दिनमा हिंसा, अराजकता र दण्डहीनता दोहोरिन नदिन राजनीतिक समस्याको समाधान संवैधानिक र शान्तिपूर्ण माध्यमबाट मात्रै खोजिनुपर्नेमा जोड दिएका छन्।












