काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य क्षेत्रलाई प्रविधिसँग जोडेर जानुपर्ने बताएका छन्। झापाको गौरादहमा नगर अस्पतालको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले प्रविधिको विकाससँगै प्रविधिलाई अपनाउनुपर्ने बताएका हुन्।
प्रधानमन्त्री ओलीले झापाको गौरादह नगरपालिकाको वडा नम्बर १ स्थित चौतु चोकमा अस्पताल भवनको शिलान्यास गरेका हुन्।
कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्माण हुने अस्पतालले स्थानीयबासीका साथै छिमेकी भारतका जनताको स्वास्थ्य उपचारमा समेत लाभ दिन सक्ने दाबी गरे।
आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने बताएका प्रधानमन्त्री ओलीले सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताए।
मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार लागेको दाबी गरेका ओलीले युवाहरूलाई स्वदेशमै व्यवसायिकता र रोजगारीमा लाग्न आग्रह गरे।
नगर अस्पताल निर्माणका लागि कुल १२ करोड ५९ लाख ७९ हजार चार सय ९६ को लागतमा २०८३ माघ १४ भित्र बन्ने गरी ठेक्का सम्झौता भएको छ।
प्रधानमन्त्री ओलीले २०७५ सालमा सबै स्थानीय तहमा १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने घोषणा भएकोमा जग्गा प्राप्तिमा ढिलाइका कारण गौरादहमा अस्पताल निर्माण सुरु हुन सकेको थिएन।












