काठमाडौं। काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को स्थानीय शासन कार्यसम्पादन स्वमूल्यांकनमा प्रारम्भिक रूपमा ७०.५ अंक प्राप्त गरेको छ।
महानगरपालिकाको ५८औँ कार्यपालिका बैठकले स्वमूल्यांकनको प्रारम्भिक नतिजामाथि छलफल गर्दै आवश्यक पृष्ठपोषणका लागि जिल्ला समन्वय समितिमा पठाउने निर्णय गरेको छ।
कार्यवाहक मेयर सुनिता डंगोलको अध्यक्षतामा मंगलबार बसेको बैठकमा योजना अनुगमन तथा मूल्यांकन एकाइका प्रमुख सुमित्रा लामिछाने सुवेदीले प्रारम्भिक नतिजासम्बन्धी प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
स्थानीय तहको बजेट, योजना तथा कार्यक्रमको प्रभावकारिता मूल्यांकन गर्न सरकारले लागू गरेको स्थानीय शासन स्वमूल्यांकन ९सञ्चालन तथा व्यवस्थापन० कार्यविधि, २०८२ का आधारमा महानगरको मूल्यांकन गरिएको हो। यसअघि स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन, वित्तीय सुशासन जोखिम मूल्यांकन र स्थानीय आर्थिक विकास मूल्यांकनका छुट्टाछुट्टै प्रणाली रहेकामा तिनलाई एकीकृत तथा परिमार्जन गरी नयाँ कार्यविधि लागू गरिएको हो।
स्वमूल्यांकनमा पाँच क्षेत्र समेटिएका छन्। महानगरले सुशासन तथा संस्थागत विकासमा २९.५०, सामाजिक विकासमा १४.४, आर्थिक विकासमा ११.३, पूर्वाधार विकासमा ८.०८ तथा वन, वातावरण र विपद् व्यवस्थापनमा ७.८३ अंक प्राप्त गरेको छ। यी क्षेत्रका लागि क्रमशः ४०, २०, २०, १० र १० अंक तोकिएको छ।
यसअनुसार सुशासन तथा संस्थागत विकासतर्फ महानगरको प्रदर्शन तुलनात्मक रूपमा उच्च देखिएको छ भने पूर्वाधार तथा वन, वातावरण र विपद् व्यवस्थापनतर्फ प्राप्त अंक कम छन्।
स्वमूल्यांकनका लागि पाँच क्षेत्रमा १०० वटा सूचक र प्रत्येक सूचकमा दुई उपसूचक राखिएका छन्। योजना अनुगमन तथा मूल्यांकन एकाइले सम्बन्धित विभाग तथा शाखासँग समन्वय गरी आवश्यक विवरण प्रणालीमा प्रविष्ट गरेको थियो।
प्रारम्भिक नतिजा जिल्ला समन्वय समितिबाट प्राप्त पृष्ठपोषणपछि पुनः अध्ययन गरिनेछ। कार्यपालिकाले सूचकगत अंकसँग सम्बन्धित प्रमाण तथा कागजातको विश्लेषण गरी असोज मसान्तभित्र अन्तिम नतिजा तय गरेर मन्त्रालयमा पठाउनेछ। मन्त्रालयले गुणस्तर परीक्षण गरेपछि आवश्यक सुधारका लागि महानगरलाई सात दिनको समय दिनेछ भने अन्तिम नतिजा पुस मसान्तभित्र सार्वजनिक गर्ने व्यवस्था छ।












