काठमाडौं। रसुवा भोटेकोशी बाढीबाट विस्थापित भएर काठमाडौंमा रहेका १३२ बालबालिकालाई काठमाडौं महानगरपालिकाले विद्यालय पठाउन थालेको छ।
नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रित बालबालिकालाई डल्लु आवास क्षेत्रमा रहेको गीतामाता स्कुलमा अध्ययनको व्यवस्था मिलाइएको हो।
विद्यालय जान थालेका बालबालिकालाई महानगरपालिकाले पुस्तक र दिवा खाजा उपलब्ध गराएको छ। विद्यालय सञ्चालनको पहिलो दिन ५९ जना र दोस्रो दिन ६१ जना बालबालिका कक्षामा उपस्थित भएका थिए। विद्यालय आउने विद्यार्थीको संख्या बढ्दै गएको विद्यालयले जनाएको छ।
बाढीका कारण अभिभावक गुमाएका, परिवारका एक सदस्य गुमाएका तथा घर र बसोबासको आधार गुमाएका बालबालिका विद्यालय आउन थालेका हुन्। केही बालबालिकाका बाबुआमा दुवै छैनन् भने केहीले बाबु वा आमामध्ये एकजनालाई गुमाएका छन्। केहीको परिवार भए पनि बस्ने घर वा स्थायी बसोबासको ठाउँ छैन।
बालबालिकाले भोगेको मानसिक आघातलाई ध्यानमा राखेर विद्यालयमा पठनपाठनसँगै मनोसामाजिक सहयोगमा जोड दिइएको छ। बालबालिकाको आवश्यकता र अवस्थाबारे बुझ्न महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल विद्यालयमै पुगेर उनीहरूलाई विद्यालय आउन प्रोत्साहित गरेकी छन्।
विद्यालयका प्रधानाध्यापक तथा शिक्षकसँगको भेटमा डंगोलले बालबालिकासँग आत्मीय व्यवहार गर्न आग्रह गरिन्। ‘वचन र व्यवहारले बालबालिकालाई थप चोट पुग्न सक्छ, उहाँहरूसँग आत्मीय व्यवहार गरेर मनको आघातलाई बिर्सन सघाउनु,’ उनले भनिन्, ‘किताब र पाठभन्दा विद्यार्थीमा भएको त्रास कम गराउन परामर्श गर्नू।’
बालबालिकालाई विद्यालयमा सहज बनाउन महानगरपालिकाका कार्यपालिका सदस्य, जनप्रतिनिधि तथा शिक्षा विभागका अधिकारीले समेत विद्यालय पुगेर सहजीकरण गरिरहेका छन्।
विद्यालयका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठका अनुसार अहिले विद्यालय आउन तयार भएका बालबालिकालाई मात्र कक्षामा ल्याइएको छ। गहिरो चिन्तामा रहेका विद्यार्थीलाई जबर्जस्ती विद्यालय पठाइएको छैन।
‘विद्यालय आउने कुरालाई स्वतः स्वीकार गर्ने विद्यार्थी आउनुभएको हो । गहिरो चिन्तामा परेका विद्यार्थीहरुलाई बल गराएर आउनै पर्छ भन्ने गरिएको छैन,’ श्रेष्ठले भने, ‘परामर्शबाट विस्तारै सामान्य अवस्थामा ल्याउने प्रयास छ । विद्यालय आउने विद्यार्थीको संख्या बढ्दो छ।’
बालबालिकाका लागि कोशिस नेपालले विद्यालय पोशाक र झोलाको व्यवस्था गरेको छ भने मनोसामाजिक परामर्शसमेत दिइरहेको छ। आश्रयस्थलदेखि विद्यालयसम्म बालबालिका ल्याउन–पुर्याउन एलआरआई स्कुलले सवारीसाधन उपलब्ध गराएको महानगरपालिकाको शिक्षा विभागका वरिष्ठ अधिकृत सुशील सुवेदीले जानकारी दिए।
महानगरपालिकाको सम्पर्कमा रहेका बालबालिका इसीडीदेखि कक्षा १२ सम्मका छन्। तीमध्ये सबैभन्दा धेरै कक्षा १ का ४५ जना छन्। कक्षा २ मा ८, कक्षा ३ मा ११, कक्षा ४ मा १२, कक्षा ५ मा ९, कक्षा ६ र ७ मा ६–६, कक्षा ८ मा ११, कक्षा ९ मा १०, कक्षा ११ मा ५ र कक्षा १२ मा १ जना छन्। इसीडी, नर्सरी, यूकेजी र कक्षा १० मा क्रमशः २, २, १ र २ जना विद्यार्थी छन्।












