काठमाडौँ। काठमाडौँ महानगरपालिकाले गएको आर्थिक वर्षमा १ लाख ५६ हजार ६९६ जना सेवाग्राहीलाई ओपीडीमार्फत स्वास्थ्य सेवा प्रदान गरेको छ।
यो संख्या अघिल्लो बर्ष आव २०८१/०८२ मा ९९ हजार ९७ जना र २०८०/०८१ मा ५५ हजार ८६६ जना थियो।
स्वास्थ्य विभागले२०८२/८३ वार्षिक समीक्षा गर्दा महानगरपालिकाबाट स्वास्थ्य सेवा लिनेको संख्या २ लाख ६० हजार छ। महिला स्वास्थ्य स्वयमसेविकाले घरघरमा पुगेर १ लाख ४४ हजार २१६ जनालाई सेवा प्रदान गरेको देखिन्छ।।
सेवा लिन आउने सेवाग्राहीहको अवस्था हेर्दा क्रमशः नसर्ने खालका रोगहको समस्यातिर लागि रहेको देखाउँछ । गएको वर्ष सेवा लिन आउनेमध्ये ४० हजार ३८६ जना उच्च रक्तचाप, २२ हजार ५०१ मधुमेह, ४ हजार ४०७ जना दम, १ हजार २५७ जना क्रोनिक किड्नी डिजिजका विरामीलाई सेवा दिइएको छ। यस वर्ष मानसिक स्वास्थ्य समस्या भएका १ हजार २४ जनालाई सेवा प्रदान गरियो। यसमा एन्जाइटी भएका ४२५ जना र आत्महानी तथा मृत्युवरणको सोच राखेका या कुनै न कुनै समयमा यसको प्रयास गरेका ११६ जना व्यक्तिलाई सेवा प्रदान गरियो । यी सबै समस्या नसर्ने खालका र जीवनशैलीसँग सम्बन्धित स्वास्थ्य समस्या हुन्।
सर्ने खालका समस्या हेर्दा, यस वर्ष ११२ जनामा मात्र डेङ्गी देखियो। जुन, अघिल्लो बर्ष कम हो। क्षयरोग नियन्त्रणतर्फ ७६९ जना नयाँ बिरामी पहिचान गरिएकोमा उपचार सफल हुने दर ९६ प्रतिशत रह्यो।
प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले असल अभ्यास स्थापित गर्नुपर्ने र यो अभ्यास सबै स्थानीय तहका लागि अनुसरण योग्य हुनुपर्ने बताए। ‘नागरिकसँग प्रत्यक्ष जोेडिएको स्वास्थ्य सेवामा प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै निरोगात्मक तथा प्रवर्धनात्मक स्वास्थ्य सेवालाई बढाउँदै लैजानुपर्छ,’ अर्यालले आगामी दिनमा केन्द्रित हुनुपर्ने कामको बाटो देखाए।












