काठमाडौं । छैटौँ शताब्दीको एकमात्र ऐतिहासिक ब्रह्मा मूर्ति सोमबार काठमाडौंको पाशुपत क्षेत्रमा नवनिर्मित मन्दिरमा पुनःस्थापित गरिएको छ। विगत ४० वर्षदेखि हराएपछि गौशाला प्रहरी वृत्तमा सुरक्षित राखिएको मूर्तिलाई अब श्रद्धालुका लागि मन्दिरमा पुनःस्थापित गरिएको हो।
काठमाडौं महानगरपालिका वडा नम्बर ८ को पहलमा मन्दिर पुनर्निर्माण गरिएको थियो। पञ्चाङ्ग निर्णायक समितिले तोकेको समयअनुसार सोमबार बिहान बाजागाजासहित रथारोहण गर्दै मूर्तिलाई प्रहरी वृत्तबाट नयाँ मन्दिरमा लगिएको हो।
वडाध्यक्ष आशामान सङ्गतका अनुसार, यो चतुरमुख ब्रह्मा मूर्ति १९९० सालको भूकम्पअगाडि नै मन्दिर भत्किएपछि हराएको थियो। मूर्ति पछि धोबीखोलामा भेट्टाइएको थियो र सुरक्षाका लागि गौशाला प्रहरी वृत्तमा राखिएको थियो। मन्दिर पुनर्निर्माण भएपछि सोमबार मूर्तिको औपचारिक पुनःस्थापना गरिएको अध्यक्ष सङ्गतले जानकारी दिए।
उनका अनुसार, मन्दिरको औपचारिक उद्घाटन कात्तिक २१ गते काठमाडौं महानगरप्रमुख बालेन्द्र शाहको उपस्थितिमा हुनेछ। सर्वसाधारणका लागि पनि त्यही दिनदेखि मन्दिर पूजाआजा गर्न खुला गरिनेछ।
अध्यक्ष सङ्गतले ब्रह्माको मूर्ति नेपालमा यही एकमात्र रहेको बताए। यसैगरी, विष्णुको अर्को मूर्तिको पुनर्निर्माणका लागि वडा कार्यालयले पहल गरिरहेको छ।
यद्यपि, पुरातत्व विभागका कारण केही ढिलाइ भएको उनले उल्लेख गरे। मूर्ति पुनःस्थापना कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डङ्गोल, वडाध्यक्ष सङ्गत, वडा सदस्यहरू, सम्पदाविद्, संस्कृतिविद् र स्थानीयको उपस्थिति रहेको थियो।












