काठमाडौं । करिब ६ महिनापछि काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार बस्ने भएको छ। मेयर बालेन शाहले शुक्रबार (असार २७ गते) दिउँसो २ बजे बैठक बोलाएका हुन्।
महानगर स्रोतका अनुसार कार्यपालिका बैठक डाक्नुअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई छुट्टीमा पठाइएको छ। ‘मेयरले कार्यकारी अधिकृतसँग बैठक नगर्ने अडान लिएपछि उहाँलाई छुट्टीमा बस्न लगाइएको हो,’ स्रोतले भन्यो, ‘उहाँले पनि त्यसलाई स्वीकार गर्नुभएको छ।’
स्थानीय सरकार सञ्चालन ऐनअनुसार महिनामा कम्तीमा एकपटक कार्यपालिका बैठक बस्नुपर्ने व्यवस्था छ। तर, काठमाडौं टावरको नक्सापास विवाद चर्किएपछि मेयर शाहले गत पुसयता कार्यपालिका बैठक डाकेका थिएनन्।
अब बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम र बजेट नगरसभामा पेस गर्ने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ। बैठकअघि बजेट स्रोत समिति र बजेट तर्जुमा समितिको बैठक बस्ने कार्यतालिका रहेको छ।












