काठमाडौं । सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बिहीबार बसेको बैठक निष्कर्षविहीन बनेको छ।
सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा संसदीय छानबिन समितिको कार्यादेशका बारेमा छलफल भएको नेकपा (एमाले)को संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडानका कारण बैठक निष्कर्षविहीन भएको उनको भनाइ छ।
कार्यदलको बैठक शुक्रबार बिहान फेरि बस्ने तय भएको उनको भनाइ छ।
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बैठकमा सरकारपक्षबाट राखिएको मौखिक प्रस्तावमा नाम नराखी छानबिनको दायरा अघि बढाउनसक्ने आशय आफूहरूलाई स्वीकार्य नभएको बताए ।
प्रतिनिधि सभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने तय भएको छ। सभाको बैठक अघि कार्यदलले सहमति जुटाउन बैठक बस्ने जनाएको छ।