काठमाडौं । कालीमाटीमा दोलखाबाट ल्याइएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार बिक्रीका लागि ल्याइएको रायो सागमा ८०.९५९० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादीको मात्रा पाइएको हो।
केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी बजारमा रहेका १७ वटा पसलबाट संकलन गरिएका १७ थरी तरकारी तथा फलफूलको नमुना परीक्षण गरेको थियो। परीक्षणका क्रममा उक्त रायो साग अत्यधिक विषादीयुक्त पाइएको र उपभोगका लागि अयोग्य रहेको समितिले जनाएको छ।
यसअघि पनि विषादीको उच्च मात्रा पाइएकै थियो। २४ असारमा भक्तपुरबाट ल्याइएको रायो सागमा ८२.७८ प्रतिशत विषादी भेटिएको थियो भने २६ असारमा काभ्रेबाट ल्याइएको घिउ सिमीमा ८६.८४ प्रतिशत विषादीको मात्रा पाइएको थियो।
हालको सरकारी मापदण्डअनुसार विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भए उपभोग गर्न मिल्ने मानिन्छ। ३५ देखि ४५ प्रतिशतसम्मको अवस्थामा केही दिन राखेर मात्रै उपभोग गर्न सकिने भनिएको छ। तर ४५ प्रतिशतभन्दा बढी विषादी भएको तरकारी वा फलफूल उपभोगका लागि अयोग्य ठहरिन्छ।












