एजेन्सी । युद्धविरामको संकेतस्वरूप अन्तर्राष्ट्रिय समुदायले आशा गरेकै बेला इरानले इजरायलमाथि छ वटा क्षेप्यास्त्र प्रहार गरेको छ। उक्त आक्रमणमा तीन जनाको ज्यान गएको इजरायली सेनाले पुष्टि गरेको छ।
तेहरानको समयअनुसार मंगलबार बिहान ६ वटा क्षेप्यास्त्र तेल अभिभ र बीरशेबातर्फ प्रहार गरिएका थिए। विस्फोटको आवाज प्रत्यक्षदर्शीहरूले सुनेको बताएका छन्। इरानी सञ्चारमाध्यम ‘प्रेसटीभी’ले भने आक्रमणलगत्तै युद्धविराम सुरु भएको दाबी गरेको छ।
रोयटर्सका अनुसार, इरानी अधिकारीले युद्धविरामका लागि सहमति जनाइएको जानकारी दिएका छन्। यद्यपि, इरानका विदेशमन्त्री अब्बास अराग्चीले इजरायलको आक्रमण बन्द नभएसम्म स्थायी युद्धविराम सम्भव नभएको बताएका छन्।
“यदि इजरायलले मंगलबार बिहान ४ बजेसम्म कुनै आक्रमण गरेन भने हामी प्रत्याक्रमण रोक्नेछौं,” उनले भने।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि दुबै पक्षलाई बाँकी सैन्य गतिविधि पूरा गर्न दिने र त्यसपछि चरणबद्ध रूपमा युद्धविराम लागु गरिने संकेत दिएका छन्।
इरानको अर्धसरकारी समाचार संस्था एसएनएनले युद्धविराम लागू हुनुअघि तेहरानबाट अन्तिमपटक क्षेप्यास्त्र प्रहार गरिएको पुष्टि गरेको छ।
युद्धको पृष्ठभूमिमा इजरायलले इरानले आणविक हतियार विकास गरिरहेको भन्दै जुन १३ देखि आक्रमण सुरु गरेको थियो। अमेरिकाले पनि आइतबार बिहान इरानका तीन आणविक केन्द्रमा बम प्रहार गरी इजरायललाई साथ दिएको थियो।
स्थिति अझै तनावपूर्ण छ। युद्धविरामको स्थायित्व इजरायल–इरानबीचको आगामी कूटनीतिक र सैन्य गतिविधिमा निर्भर रहने देखिन्छ।












