एजेन्सी । भारतको अहमदावादमा बिहीबार भएको विमान दुर्घटनामा दोस्रो ‘ब्ल्याक बक्स’ आइतबार फेला परेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीका सहयोगी पिके मिश्रले दुर्घटनाअघिको जानकारी राख्ने दुवै ‘ब्ल्याक बक्स’ फेला परेको पुष्टि गरेका छन्।
यसअघि शुक्रबार पहिलो ‘ब्ल्याक बक्स रेकर्डर’ फेला परेको थियो। अहमदावादबाट लण्डन जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान बिहीबार मध्याह्न करिब १०० मिटर (३३० फिट) उचाइमा रहँदा दुर्घटनाग्रस्त भएको थियो।
विमानमा चालक दलसहित २४२ यात्रु थिए। एक जना चमत्कारिक रूपमा बाँचे। प्रहरी उपप्रमुख कानन देसाईले हालसम्म २७९ शव गणना भएको बताए। अहिलेसम्म ८० जना पीडितको डीएनए नमूना आफन्तसँग मेल खाएको र ३३ शव परिवारलाई हस्तान्तरण गरिएको अधिकारीहरूले बताएका छन्।












