एजेन्सी । भारतले बंगलादेशबाट हुने केही वस्तुको आयातमा बन्दरगाह प्रतिबन्ध लगाएको छ । तयारी पोशाक, प्रशोधित खाद्य वस्तु, फल, प्लास्टिक, कपास, रंग र फर्निचरजस्ता वस्तुमाथि भारतले शनिबारदेखि रोक लगाएको हो ।
भारतको वाणिज्य मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) ले यस सम्बन्धमा सूचना जारी गर्दै प्रतिबन्ध तत्काल लागू भएको बताएको छ ।
डीजीएफटीले जारी गरेको सूचनामा यो प्रतिबन्ध तत्काल लागु हुने उल्लेख छ । योसँगै बंगलादेशबाट तयारी गार्मेन्टहरूको आयात अनुमति कुनै पनि बन्दरगाहबाट पाइनेछैन ।
भारतले रोक लगाएपछि बंगलादेशबाट तयारी पोशाकको आयात कुनै पनि स्थल बन्दरगाह (जस्तै आसम, मेघालय, त्रिपुरा, मिजोरम र पश्चिम बंगालको चांगरबांधा र फूलबारी) बाट गर्न पाइने छैन । यी वस्तुको आयात अब केवल मुम्बईको न्हावाशेवा र कोलकाताको समुद्री बन्दरगाहबाट मात्र गर्न अनुमति दिइनेछ ।












