एजेन्सी । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा आज (सोमबार) बिहान एक कार्गो विमान धावनमार्गबाट चिप्लिएर समुद्रमा खसेको छ। दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार मृतक दुवै जना ग्राउन्ड स्टाफ रहेका छन्। विमान धावनमार्गमा उनीहरूको गाडीमा ठोकिँदै समुद्रमा खसेको र गाडी पनि विमानसँगै समुद्रमा डुबेको बताइएकाे छ।
दुबईबाट हङकङ आउँदै गरेको एमिरेट्स कार्गो उडान ईके९७८८ दुर्घटनामा परेको हो। उक्त विमान टर्किस कार्गो एयरलाइन्स (Air ACT Cargo) को बोइङ ७४७–४८१ मोडेलको थियो।
विमानमा सवार सबै चार जना चालक दलका सदस्य भने सकुशल बाँच्न सफल भएका छन्। उनीहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको हङकङ विमानस्थल प्राधिकरणले जनाएको छ।
दुर्घटना सोमबार स्थानीय समयअनुसार बिहान ३:४० बजे भएको हो। प्रारम्भिक अनुमान अनुसार टेकअफका क्रममा विमान चिप्लिएर नियन्त्रण गुमाएको बताइएको छ।
घटनाबारे थप जानकारीका लागि हङकङ विमानस्थल प्राधिकरणले सोमबार बिहान १० बजे पत्रकार सम्मेलन गर्ने भएको छ। दुर्घटनापछि विमानस्थलमा केही समयका लागि उडान सञ्चालन रोकिएको र उद्धारकार्य तीव्र रूपमा भइरहेको जनाइएको छ।












