काठमाडौं। रसुवागढी नाका अवरुद्ध भएपछि चीनसँगको यात्रु आवागमनका लागि सिन्धुपाल्चोकको तातोपानी र हुम्लाको हिल्सा नाका वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेका छन्।
भाद्र १० गते रसुवामा आएको भीषण बाढीका कारण रसुवागढी नाकास्थित अध्यागमन कार्यालयसहितका संरचनामा क्षति पुगेपछि उक्त नाकाबाट हुने यात्रु आवागमन प्रभावित भएको हो। त्यसपछि चीनको तिब्बत भ्रमण गरी नेपाल फर्किने तथा चीन जाने यात्रुले तातोपानी र हिल्सा नाका प्रयोग गर्न थालेका हुन्।
अध्यागमन विभागका अनुसार भाद्र १० देखि २९ गतेसम्म तातोपानी नाकाबाट ३ हजार ९०४ जना यात्रु नेपाल प्रवेश गरेका छन्। तीमध्ये १ हजार ७३३ जना महिला छन्। सोही अवधिमा तातोपानी हुँदै ३९१ जना चीनतर्फ प्रस्थान गरेका छन्।
यस्तै, हिल्सा नाकाबाट ३८७ जना नेपाल प्रवेश गरेका छन्। नेपाल प्रवेश गर्नेमध्ये १६५ जना यसअघि रसुवागढी नाका हुँदै चीन गएका यात्रु रहेको विभागले जनाएको छ। सोही अवधिमा हिल्सा हुँदै १७८ जना चीनतर्फ प्रस्थान गरेका छन्।
विशेषगरी कैलाश–मानसरोवर यात्रामा गएका तथा तिब्बत भ्रमण गरेका यात्रु यी वैकल्पिक नाकाबाट नेपाल फर्किएको विभागको तथ्यांकले देखाएको छ। दुवै नाकाबाट आवतजावत गर्ने विदेशी यात्रुमध्ये भारत, बेलायत र अमेरिकाका नागरिकको संख्या बढी रहेको विभागले जनाएको छ।
रसुवागढी नाका बन्द भएपछि वैकल्पिक नाकामा यात्रुको चाप बढेको देखिए पनि तातोपानी र हिल्साबाट हुने आवागमनले चीनसँगको यात्रु आवागमनलाई निरन्तरता दिएको छ।
अध्यागमन विभागले यात्रुको सहज आवागमन तथा अध्यागमन व्यवस्थापनका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय भइरहेको जनाएको छ।












