काठमाडौं । आगामी १ साउनदेखि स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र कायम हुने भएका छन् । स्वास्थ्य बीमा बोर्डले हाल प्रदम सेवा विन्दु रहेका सामुदायिक र निजी स्वास्थ्य संस्थालई १ साउनदेखि प्रथम सेवा विन्दुबाट हटाउने भएको हो ।
बीमा ऐन २०७४ तथा नियमावली २०७५ अनुसार यस्तो व्यवस्था गर्न लागिएको बोर्डले जनाएको छ । ’स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (६) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) को नियम २ को खण्ड (छ) ले प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था गरेकाले मिति २०८२ श्रावन १ गतेबाट उक्त संस्था प्रथम सेवा विन्दुको रुपमा नरहने व्यहोरा निर्णयानुसार (कार्यकारी निर्देशकस्तर) अनुरोध छ,’ बोर्डले भनेको छ ।
बोर्डले सामुदायिक तथा निजी स्वास्थ्य संस्थाका नाममा एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । स्वास्थ्य बीमामा नयाँ नियम लागू भएसँगै अबदेखि पहिलेजस्तै सीधै निजि वा सामुदायिक अस्पतालमा गएर प्रथम सेवा विन्दुका रूपमा सेवा लिन नसकिने भएको हो ।













