काठमाडौँ। सरकारले विपन्न, असहाय तथा लक्षित वर्गका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्न सञ्चालनमा ल्याएको ‘निःशुल्क स्वास्थ्य पोर्टल’ मार्फत सेवा लिनेको संख्या १ हजार २०० नाघेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले गत वैशाख ३ गतेदेखि उक्त अनलाइन प्रणाली सञ्चालनमा ल्याएपछि विपन्न वर्गका बिरामीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुन थालेका हुन्।
मन्त्रालयका अनुसार पोर्टलमा अद्यावधिक गरिएको विवरणअनुसार देशभरका अस्पतालमा हाल कुल २३ हजार ४५६ शय्या उपलब्ध छन्। कानुनी व्यवस्थाअनुसार तीमध्ये १० प्रतिशत अर्थात् २ हजार ३५६ शय्या पूर्ण रूपमा निःशुल्क उपचारका लागि छुट्याइएको छ।
हाल उपलब्ध निःशुल्क शय्यामध्ये ३५४ शय्यामा बिरामी उपचाररत रहेका छन् भने बाँकी २ हजार २ शय्या तत्काल प्रयोगका लागि उपलब्ध रहेको मन्त्रालयले जनाएको छ। पोर्टलमार्फत देशभरका अस्पतालमा उपलब्ध कुल शय्या, निःशुल्क शय्या, प्रयोग भइरहेका शय्या तथा खाली रहेका शय्याको वास्तविक समयको विवरण हेर्न सकिन्छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानले सुनिश्चित गरेको निःशुल्क स्वास्थ्य सेवाको अधिकार व्यवहारमा कार्यान्वयन गर्न पोर्टल सुरु गरिएको बताइन्। उनका अनुसार विगतमा विपन्न नागरिकले निःशुल्क उपचार सुविधा पाउने वा नपाउने विषय अस्पतालको इच्छामा निर्भर हुने अवस्था रहेकाले त्यसलाई अन्त्य गर्न यो प्रणाली ल्याइएको हो।
नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक सुनिश्चित गरेको छ। साथै, स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ अनुसार अस्पतालहरूले कुल शय्याको १० प्रतिशत विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि निःशुल्क उपचारका लागि छुट्याउनुपर्ने व्यवस्था छ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी का अनुसार विगतमा निःशुल्क सेवाको दायरा र प्रक्रिया स्पष्ट नहुँदा अन्योल हुने गरेको थियो। नयाँ कार्यविधि लागू भएपछि निःशुल्क उपचारसम्बन्धी व्यवस्था थप स्पष्ट र प्रभावकारी बनेको उनले बताए।
कार्यविधिअनुसार अस्पतालहरूले छुट्याइएका निःशुल्क शय्यामा भर्ना भएका बिरामीलाई अस्पतालमा उपलब्ध सम्पूर्ण सेवा निःशुल्क प्रदान गर्नुपर्नेछ। साथै, निःशुल्क शय्यासम्बन्धी सबै विवरण स्वास्थ्य पोर्टल तथा अस्पतालको सूचना पाटीमा सार्वजनिक रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ।
मन्त्रालयले पोर्टलको प्रभावकारी कार्यान्वयन तथा अस्पतालहरूको अनुगमनका लागि ६ वटा समिति गठन गरी देशका ११ वटा संघीय अस्पतालमा परिचालन गरेको जनाएको छ। सरकारको यो पहलले निःशुल्क स्वास्थ्य सेवामा पारदर्शिता, पहुँच र जवाफदेहिता बढाउने अपेक्षा गरिएको छ।












