काठमाडौं। स्वास्थ्य बिमा बोर्डले सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक (इमर्जेन्सी)उपचारका रूपमा सेवा प्रदान गरी भुक्तानी दाबी पेस गरे त्यस्तो दाबी स्वीकृत नगर्ने जनाएको छ।
बोर्डले सोमबार निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई पत्राचार गर्दै आकस्मिक सेवाको नाममा गरिने गलत दाबीमाथि कडाइ गरिने स्पष्ट पारेको हो।
बोर्डद्वारा जारी सूचनामा सामान्य बिरामीलाई इमर्जेन्सी सेवाअन्तर्गत उपचार गरेको देखाई भुक्तानी माग गरिए त्यस्ता दाबीहरू अस्वीकृत गरिने उल्लेख छ। साथै, यस प्रकारका गतिविधिमा संलग्न भए प्रचलित कानुनबमोजिम कारबाहीसमेत हुन सक्ने चेतावनी बोर्डले दिएको छ।
बोर्डले आमसेवाग्राहीलाई पनि स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत तोकिएका मापदण्ड र प्रक्रिया पालना गर्न आग्रह गरेको छ। सेवा प्रदायक संस्था वा स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब सिर्जना नगर्न अनुरोध गर्दै बोर्डले नियमअनुसार मात्रै सेवा लिन अपिल गरेको छ।
यद्यपि, वास्तविक आकस्मिक अवस्थाका बिरामीहरूको उपचारमा कुनै अवरोध नहुने बोर्डले स्पष्ट पारेको छ। उपचारका क्रममा बिरामीलाई भर्ना गर्नुपर्ने वा शल्यक्रिया आवश्यक परे स्वास्थ्य संस्थाले उपचार पद्धतिअनुसार सेवा प्रदान गरी डिस्चार्ज गर्न सक्ने जनाएको छ।
स्वास्थ्य बिमा बोर्डको यो निर्णय आकस्मिक सेवाको नाममा हुन सक्ने सम्भावित आर्थिक अनियमितता तथा गलत दाबी नियन्त्रण गर्ने उद्देश्यले गरिएको बताइएको छ। बोर्डले स्वास्थ्य बिमा कार्यक्रमको पारदर्शिता र दिगोपना कायम राख्न सेवा प्रदायक संस्था तथा सेवाग्राही दुवैको जिम्मेवार भूमिका आवश्यक रहेको जनाएको छ।












